स्रष्टा एवं वरिष्ठ राजनीतिज्ञ दीनानाथ शर्माद्वारा लिखित तथा साझा प्रकाशनबाट प्रकाशित बाह्रखरीको बोटमुनि निबन्धसङ्ग्रहको मिति २०७४।११।२० गते भएको विमोचन समारोहमा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धकज्यूद्वारा प्रस्तुत मन्तव्य ।

यस गरिमामय कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका श्रद्धेय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यू, वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीज्यू, मञ्चमा आसिन अतिथिज्यूहरू, आज लोकार्पण हुने पुस्तकका लेखक दीनानाथ शर्मा तथा समीक्षकज्यूसंस्थाका सञ्चालक समितिका पदाधिकारीज्यूहरू, संस्थाका सेयर सदस्यज्यूहरू, कर्मचारी साथीहरू, सुरक्षा निकाय तथा पत्रकार मित्रहरू एवं उपस्थित साहित्यप्रेमी सम्पूर्ण महानुभावहरू ११

लामो समयदेखि नेपाली वाङ्मयको विकासमा योगदान गर्दैआएको साझा प्रकाशनले आयोजना गरेकोे पुस्तक लोकार्पण समारोहमा यहाँ उपस्थित प्रबुद्ध व्यक्तिहरूलाई म सर्वप्रथम हार्दिक स्वागत एवं अभिवादन गर्दछु । भाषा–साहित्य, वाङ्मय र शिक्षाको विकास गर्ने सरकारको नीतिअनुरूप वि। सं। १९७० मा गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापित भई १९९० मा नाम परिवर्तन भएर आएको नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारी संस्थाका रूपमा २०२१ सालमा साझा प्रकाशनको स्थापना भएको हो । विगतमा सरकारको प्रत्यक्षपरोक्ष सहयोगले साझा प्रकाशन यहाँसम्म आइपुगेको छ । यसका लागि हामीले जनक शिक्षाद्वारा मुद्रित विद्यालय तहका पाठ्यपुस्तकहरू देशभर बिक्रीवितरण गर्दैआएका थियौँ । विगत ५ वर्षदेखि सो काम सरकारको तर्पmबाट हामीले पाएनौँ । पाठ्यपुस्तक बिक्रीवितरण गर्न नपाएपछि संस्थागत आम्दानीको प्रमुख स्रोत नै सुक्यो । यसरी विगतदेखि नै संस्थाले गरिआएको काम खोसिए तापनि भरपर्दो विकल्प सरकारले नदिनुले नै आज साझाले यो अवस्था झेल्नु परेको हो ।
म साझा प्रकाशनमा प्रवेश गर्दा संस्था आर्थिक संकटले घेरिएको थियो । छापाखाना बन्द थियो । कागज, मसी केही थिएन । संस्थाका चल्ने किताब मुद्रण गर्नु थियो । त्यस्तो अवस्थामा छापाखाना सञ्चालन गर्नु पहिलो कर्तव्य मैले ठानेँ, तर त्यो ठूलो चुनौती थियो । पुरानो दायित्व भुक्तानी नगरेकाले जताततै संस्थाको साख गिरेको थियो । उधारो कसैले पत्याउँदैनथ्यो । पुरानो रकम भुक्तानीका लागि दबाब उत्तिकै तीव्र थियो । त्यस्तो अवस्थामा व्यक्तिगत पहलमा कागजमसीको व्यवस्था गरी छापाखाना सञ्चालन भयो र धेरै पुस्तक प्रकाशन तथा पुनर्मुद्रण पनि भए ।
विगतको व्यवस्थापनले आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा संस्था आर्थिक जटिलतामा थियो । लेखकहरूको लेखकस्व, कर्मचारीको पारिश्रमिक लगायत सेवानिवृत्त तथा अवकाश प्राप्त कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने करिब ६३ करोडभन्दा बढी ऋणदायित्व दिनानुदिन बढ्दैगएको र सहकारी बैङ्कको कर्जा चुक्ता गर्न नसक्दा त्यसअघि पटकपटक सूचना निकाली साझा अचल सम्पत्ति लिलामीको अन्तिम चरणमा पुगेको स्थिति थियो । साझालाई बचाउने महाचुनौती र साझाका नियमित कार्यलाई सम्पादन गर्ने अर्को समस्यासँग जुध्न मैले गरेका हरेक प्रयाससँग तपाईंहरू सबै परिचित नै हुनुहुन्छ ।
संस्थाका बाह्य आन्तरिक भ्रमहरू, आर्थिक जर्जरता, कर्मचारी साथीहरूको मनोबल उकास्न नसकेका स्थितिहरू, साझा बचाएर यसको गौरवलाई पूर्ववत् स्थितिमा फर्काउनुपर्ने आवश्यकताजस्ता अनेक जटिलताका बीच काम गरिरहनुपरेको यर्थाथ जगजाहेर नै थियो । साझा बचाउनका लागि राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ राजनीतिज्ञ एवं स्रष्टा मोहन वैद्य किरण, वरिष्ठ स्रष्टाहरू मदनमणि दीक्षित, वासुदेव त्रिपाठी, बैरागी काइँला, मोदनाथ प्रश्रितलगायतका स्रष्टाहरूको अगुवाईमा साझा प्रकाशनको आवाज बुलन्द गरिएको र ठूलो विद्वत्समूहका साथमा गएर आजका प्रमुख अतिथि तत्कालीन सरकार संचालन सन्यत्रका संयोजक श्रद्धेय पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई पेरिसडाँडामा भेटेर यथार्थ अवगत गराएको कुरा म स्मरण गर्न चाहन्छु । साझाप्रति सबैको सकारात्मक धारणा भए पनि त्यसलाई मूर्तरूप दिन कठिन थियो । संस्थाको जीवन्तता लागि २० प्रतिशत मात्र रकम लिएर स्वेच्छिक अवकाश रोजेर बिदा हुनुभएका कर्मचारी र पाँच वर्षअघिको तलबमा पनि खटेर काम गरिरहनुभएका अहिले कार्यरत कर्मचारी साथीहरूलाई मैले ह्दयदेखि सम्झेको छु । सेवानिवृत्त कर्मचरीहरूलाई प्रदीप नेपाल, दीनानाथ शर्मा म लगायत संचालक समितिले निर्णय गरेर पत्र दिएका हौँ । रकम भुक्तानीका लागि समयावधि तोकेर प्रतिबद्धता गरिएका कुरालाई मैले बिर्सेको छैन । यहाँहरूलाई सन्तुष्ट पार्ने दायित्व साझासँग छ, त्यसलाई पुरा गर्न हामी कटिबद्ध छौँ । केही समय धैर्य गर्न पनि अनुरोध गर्दछु ।
विगतको पछिल्लो समयको ऐतिहासिक शृङ्खलामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइरालाको योगदान साझा प्रकाशनको अभिलेखमा छ । यसरी सबैले साझा प्रकाशनको विषम परिस्थितिलाई बुझेर यसप्रति जुन सद्भाव राख्नुभएको छ, त्यो मैले मनन गरेको छु, तर यावत् कुराको समाधान राजनीतिक तहबाट नै खोज्नुपर्ने भएकाले साझा प्रकाशनको ऐतिहासिक गरिमा कायम गर्न आज यस मञ्चमा रहनुभएको उच्च राजनीतिक नेतृत्व संवेदनशील भएको मैले अनुभव गरेको छु ।
भाषासाहित्य, कलासंस्कृतिको मर्म बुझ्ने तथा साझा प्रकाशनका भित्री कथाव्यथा र मर्मलाई पर्गेल्ने र बुझ्ने अभिभावकका रूपमा श्रद्धेय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको नाम आउँछ । उहाँले साझा प्रकाशनलाई आर्थिक सङ्कटको दलदलबाट उठाएर जीवन्तता दिन ऐतिहासिक अभियान सुरु गर्नुभएको छ । यहाँकै प्रधानमन्त्रीत्वकालमा सरकारबाट रु। १० करोड अनुदानसहित जम्मा रु। ३० करोड सहयोग प्राप्त भयो । तर करिब ६३ करोड दायित्व रहेको संस्थामा सरकारको उक्त सहयोगले मात्र धान्न सक्ने अवस्था थिएन । त्यसमा पनि सरकारले दिएको रु। ३० करोडमध्ये रु। १४ करोड १३ लाख जनक शिक्षा सामग्री केन्द्रलाई सोझै निकासा दिइयो तर साझा प्रकाशनले उक्त रकम भुक्तानी गरिसक्दा पनि जनक शिक्षाबाट उत्पादित पाठ्यपुस्तक बिक्रीवितरणको पूर्ववत् जिम्मेवारी भने पाउन सकेन । बाँकी रकम संस्थाको तत्कालीन आर्थिक सङ्कट समाधानका लागि अपुग भयो ।
प्रचण्डज्यूकै सत्प्रयासस्वरूप सरकारबाट पाएको सीमित रकमबाट एकै पटक सबै व्यवस्थापन गर्न कठिन थियो । राष्ट्रिय सहकारी बैकको ऋणको व्याज भुक्तानी, कर्मचारीको उपदान र तलबभत्ता, कागजलगायत सामान खरीद भुक्तानी, लेखकस्व आदिका लागि उक्त रकमबाट केही राहत भयो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पले जीर्ण बनेको साझा प्रकाशनको केन्द्रीय कार्यालय भवन निर्माणार्थ बजेट विनियोजन गरी काम अगाडि बढाएको छ । यस सन्दर्भमा आफैँले फाइल बोकेर प्राधिकरणका सीओ डा। गोविन्द पोखरेलसमक्ष जानुहुने प्रदीप नेपाल, दीनानाथ शर्मा, बलदेव शर्मा मजगैयाजस्ता पूर्वमन्त्री र प्रा।डा। कृष्णहरि बरालज्यूहरूलाई म बिर्सन सक्दिनँ । भवन निर्माणको यस कुराले मूर्तरूप लिँदैछ । यति हुँदाहुँदै पनि तपाई हामी उभिएको साझाको यो प्राङ्गण लिलामीको मुख बाएर बसिरहेको छ र लिलामीबाट जोगाउने भाषासाहित्य र साझ प्रकाशनलाई माया गर्ने व्यक्तित्व हामीले पाएका छौँ आज उहाँ प्रमुख अतिथि हुनुहुन्छ, उहाँजस्तो अभिभावक हामीले पाएको हुनाले यो सम्पक्ति लिलामीमा पर्नबाट जोगिनेछ भन्ने कुरामा साझा प्रकाशन ढुक्क छ ।
प्रमुख अतिथिज्यू, २०७३ पुस १३ गते यहाँले साझा प्रकाशनकोे वस्तुस्थितिका बारेमा अवगत गर्नुभएको र सहयोग गर्ने प्रबिद्धता व्यक्त गर्नुका साथै बैकको ऋण, छापाखानालाई आधुनिकीकरण तथा भवन निर्माणको पूर्णता दिने र कर्मचारीको समस्या सम्बोधनजस्ता कुरामा यहाँ अत्यन्त संवेदित हुनुभएको कुरा मैले सम्झेको छु । मेरो साढे दुई वर्षे कार्यकाल अत्यन्त उत्तारचढायुक्त भएको कुरा यहाँहरूलाई अवगत नै छ । पदबहालीको दुई वर्षपछि दुई महिना पदमुक्त भई त्यसपछि पुनः बहाली भएर आएको छु । मेरा सारा व्यक्तिगत स्वार्थलाई तिलान्जलि दिएर २६ बुँदे कार्ययोजना एक पटक एक काम ः साझा प्रकाशन, उत्पादनमैत्री वातावरण भ्रष्टाचाररहित संस्था भन्ने अभियान र नाराका साथ म काम गरिरहेको छु र संस्थालाई सदृढ र समृद्ध बचाउन चाहन्छु । मृतप्रायः भएर रहेको संस्थाले गति लिएपछि कतिपयलाई टाउको दुख्यो, संस्थाको हितमा भएका गतिविधि प्रति तपाईहरू टाउको नदुखाउनोस् मलाई काम गर्न दिनोस् । साझा प्रकाशन र मेरा बारे केही सीमित सञ्चारमाध्यममा आएका हल्ला, अफवाह र भ्रमहरूको खेतीले कसैको हित गर्दैन । साहित्यिक स्वास्थ्य, प्राज्ञिक स्वास्थ्य र हामी सबैको मानसिक स्वास्थ्यका लागि आफूभित्रका नकारात्मक सोचलाई थन्काएर आयौँ भने साझाले मात्र हैन देशले नै पुर्नजीवन पाउनेछ भन्ने मेरो विश्वास छ ।
आदरणीय महानुभावहरू म स्वच्छ आलोचनालाई सदैव सम्मान गर्दछु । मेरा कार्यकालमा केही त्रुटि भएका भए यो विद्वत्वर्गसमक्ष त्यो स्वीकार्न तयार छु तर हाम्रो नेपाली समाज नकारात्मक कुरा चाँडै फैलाउँछ र सकारात्मक कुरा पचास पटकभन्दा पनि प्रचार गर्न चाहदैन । यो कुरा सङ्केतमा र प्रतीकात्मक रूपमा बुझ्नहुन अनुरोध छ । बाहिर बसेर आलेचना गर्न जति सजिलो छ भित्र बसेर जटिलताहरूसँग जुध्न कठिन
छ । साझा बचाउन ती जटिलतासँग जुध्ने वातावरण मात्र बनाइदिनोस् र सहयोग गर्नुहोस् साझा बचाउन म सधैँ समर्पित छु ।
आदरणीय प्रमुख अतिथिज्यू
यहाँले ख्च्क् बाट सेवा निवृतकर्मचारीका समस्या सम्बोधन गर्ने यसअघि पनि बचन दिनुभएका र आज पनि यहाँकै मुखबाट पुन ः सम्बोधन हुनेछ भन्ने आशा मैले तथा सेवानिवृत कर्मचारी गरिरहेका छौँ । साझा प्रकाशनलाई आर्थिक सङ्कटको दलदलबाट उठाएर जीवन्तता दिन यहाँले सुरु गर्नुभएको ऐतिहासिक अभियानलाई पूर्णता दिन अभिभावकत्व ग्रहण गरी यहाँकै नेतृत्वमा संस्थाको विद्यमान दायित्व एक पटक राज्यका तर्फबाट व्यवस्थापन गरी आत्मनिर्भर बनाउन आवश्यक रकम तथा दीर्घकालीन नीतिगत व्यवस्थाका लागि नेपाल सरकारसमक्ष पहल गरिदिनुहुन पुनः एक पटक हार्दिक अनुरोध गर्दछु ।
स्रष्टा दीनानाथ शर्माज्यूले आज लोकार्पण हुने बाह्रखरीको बोटमुनि शीर्षक आफ्नो निबन्धसङ्ग्रह यस संस्थाबाट प्रकाशित गर्ने मौका दिनुभएकोमा स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्दछु । सस्थाको सञ्चालक समिति तथा साझा बचाउ आन्दोलनमा सरिक भई हामीलाई हरेक कोणबाट सल्लाह, सुझाव र सहयोग गरेर ऋणी तुल्याउनुभएको कुरा यहाँहरूसमक्ष भनिरहनु पर्दैन । आगामी दिनमा समेत उहाँको राजनीति र साहित्यमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
व्यस्त समयका बाबजुद पनि हाम्रो निमन्त्रणा स्वीकार गरेर संस्थाको यथार्थ वस्तुस्थिति आत्मसात् गर्न स्वयं उपस्थित हुनुभएकोमा प्रमुख अतिथिज्यूप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु र यहाँको सद्भाव, सहयोग र मार्गनिर्देशन संस्थाले सधैँ प्राप्त गर्नेछ भन्ने विश्वास लिएको
छु । साथै संस्थाका सेयर सदस्यहरू तथा वर्तमान सञ्चालक समितिका पदाधिकारी एवं स्रष्टाहरूको नियमित र निरन्तर मार्गदर्शन संस्थाका लागि अतुलनीय छ । म साझा प्रकाशको नेतृत्वमा आएदेखि साझाबचाउ आन्दोलनमा आफ्नो पदप्रतिष्ठालाई बिर्सेर एउटै साझा मालामा गाँसिएर लागिपर्नुभएका अग्रजहरू, देशविदेशमा रहनुभएका साहित्यिक स्रष्टाहरूमा धन्यवादसमेत व्यक्त गर्दछु र उहाँहरूबाट निरन्तर सल्लाह एवम् सुझावको अपेक्षासमेत गर्दछु ।
संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरूले मेरो काम, कर्तव्य र जिम्मेवारी वहन गर्ने सन्दर्भमा दिलैदेखि दिनुभएको सल्लाह र सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु । संस्थाको यथार्थ वस्तुस्थिति दर्शक, श्रोता र पाठकमाझ पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरूप्रति पनि आभारी
छु । फेरि एक पटक आजको यो गरिमामय कार्यक्रमलाई सफल बनाउन उपस्थित भइदिनुभएकोमा प्रमुख अतिथिज्यू एवं सबै सहभागीप्रति पुनः आभार व्यक्त गर्दै बिदा हुन्छु ।
जय साहित्य जय साझा जय देश

© 2016 Sajha Prakashan. All Rights Reserved...