प्रेस विज्ञप्ति

मिति २०७५।३।७

प्रेस विज्ञप्ति

साझा प्रकाशनको तत्कालिन व्यवस्थापनले संस्थाको केन्द्रीय कार्यालय रहेको जग्गा धितोमा राखि मिति २०६९।११।२२ राष्ट्रिय सहकारी बैक लि। बाट १ वर्षको भाखा राखी ४ करोड ६० लाख कर्जा लिएको थियो । संस्थाको आर्थिक असन्तुलनका कारण उक्त कर्जा तोकिएको समयावधिभित्र कर्जाको साँवा र व्याज भुक्तानी गर्न सकिएको थिएन । बैकबाट धितो लिलामी गरी कर्जा असुली गर्न पटक पटक सूचना प्रकाशित गरिएको थियो ।
विगतको व्यवस्थापकीय र आर्थिक असन्तुलनका कारण सङ्कटमा रहेको साझा प्रकाशनलाई जोगाउन वर्तमान् व्यवस्थापनले नेतृत्व सम्हालेपछि ‘साझा बचाऊ अभियान’ संचालन गरी साझा प्रकाशनलाई लिलामीबाट बचाउन नेपाल सरकारका निकाय, देशका मुर्धन्य स्रष्टादेखि राजनीतिक नेतृत्व, लेखक, अंशियार, पत्रकारसहित आम सरोकारवाको साथ सहयोग लिई लिलामी प्रक्रिया स्थगन गर्नुपरेको कुरामा सबैलाई अवगत नै छ । साझा प्रकाशनद्वार बैकको व्याज वापत २ करोडभन्दा बढी रकम यस अघि नै भुक्तानी गरिसकिएको थियो ।
गोरखा भाषा प्रकाशिनी समिति र नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारी संस्था साझा प्रकाशनको ऐतिहासिकता र गरिमाको सम्मान गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्रिय सहकारी बैकबाट लिएको कर्जाको साँवा र व्याज बुझाउन रकम निकासा भएको र राष्ट्रिय सहकारी बैकलाई साँवा तथा व्याज गरी ५ करोड ३० लाख १९ हजार २ सय १६ रुपयाँ भुक्तानी गरी बैकको ऋणबाट संस्थाले मुक्ति पाएको छ । साझा प्रकाशनलाई लिलामीको घडीबाट बचाउन गर्नुभएको सहयोगप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रीज्यू, शिक्षा मन्त्रीज्यू, मुर्धन्य स्रष्टा एवं आम सरोकारवाला सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनमा यहाँहरूको माया, सद्भाव र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।
लामो समयदेखि जेलिएको आर्थिक दायित्व तथा समस्यालाई क्रमिक रूपमा व्यवस्थापन गर्दै संस्थालाई समृद्ध र सबैको साझा चौतारीको रूपमा अगाडि बढाउन २६ बुँदे साझा प्रकाशन सुधार कार्ययोजना कार्यान्वयन भइरहेको छ ।

डोलिन्द्रप्रसाद शर्मा

अध्यक्ष तथा महाप्रबन्धक

© 2016 Sajha Prakashan. All Rights Reserved...