साझा प्रकाशनद्धारा आयोजित पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा वितरित प्रेस विज्ञप्ति

मितिः २०७४।४।१५ काठमाडौँ
सञ्चालक समितिका सदस्यज्युहरु,
अंशियार, सञ्चारकर्मी एवं उपस्थित महानुभावहरु,
साझा प्रकाशनमा पछिल्लो दुई दसकमा धेरै काला बादल मडारिए । यस ऐतिहासिक संस्थामा सूर्यका किरणहरु प्रवेश गरेको अढाइ वर्ष भएको छ । हुन त, यस्ता सूर्यका किरणहरु विगतमा क्षत्विक्षत र बन्दाबन्दै अपूर्ण रहेका साझाका भवनका झ्यालबाट केही मात्रामा नछिरेका होइनन् तर पछिल्ला समयमा ढोकाबाटै पारिलो र स्पष्ट भएर ज्योतियुक्त सूर्यका किरणहरु छिरेको स्पष्ट देख्न सकिन्छ । त्यसैको परिणामले, आजको यो पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाइ कार्यक्रममा हामी भेला भइरहेका छौँ । म उपस्थित सबैमा संस्थाको तर्फबाट हार्दिक स्वागत गर्दछु ।
मैले २०७१ साल माघ ५ गते साझा प्रकाशनको प्राङ्गणमा जिम्मेवारीसहित प्रवेश गर्दा कर्मचारी साथीहरुले फूल लिएर स्वागत त गरेका थिए, तर उनीहरुका हातका रहेका फूलहरु मात्र होइन उनीहरुको मन नै ओइलाएको अवस्था मैले पाएको थिएँ । संस्थाको खातामा एक रुपैयाँ पनि थिएन । छापाखाना र कार्यालयहरु बन्द थिए । संस्थाको केन्द्रीय कार्यालयमा वनमारा झारले वनको घाँस खाए झैँ साहित्यिक घाँस खानेहरुले साझालाई दुरावस्थामा पुर्याएका थिए । त्यति मात्र होइन, उनीहरुले हेर्न र देख्न नमिल्ने गरी संस्थालाई चरप्प नखाएको भए मेरो प्रवेश पनि सम्भव थिएन ।
मलाई यो जानकारी गराउँदा साह्रै लज्जाबोध हुन्छ, साझाको गाडी चढेर २०७१ माघ १२ गते नगद तिरेर साझा पेट्रेल पम्पमा पेट्रोल हाल्न खोज्दा उनीहरुले पेट्रोल नदिँदाको क्षण न म व्यक्त गर्न सक्छु, न तपाईँहरुले बुझ्न सक्नुहुन्छ । मैले कारण खोज्दा उनीहरुले भने, “पहिलो बाँकी एक लाख ५६ हजार तिर्नुस्, अनि तेल हाल्छौँ ।” त्यसपछि कार्यालयमा फर्किएर साझा पेट्रोल पम्पका महाप्रबन्धकलाई फोन गरेर भुक्तानी लिन बोलाएँ । संस्थाको खातामा रकम नभएकाले मैले सापट दिएर त्यो भुक्तानी गरियो । मलाई प्रश्न गर्न मन लाग्छ, आज साझाको बारेमा भ्रम फिँजाउनेहरु कहाँ हुनुहुन्थ्यो त्यतिखेर ? संस्थाको साधारणसभा र लेखा परीक्षण नगरी एकछत्र राज गरिरहेका तत्कालीन सञ्चालकहरुमा मैले सुधारका कार्यक्रम अघि सारेपछि बगेका पसिनाबारेमा म अहिले केही भन्दिनँ । उनीहरुले संस्था सुधारका लागि सहयोग गर्नुका साटो राजीनामा दिएर मसँग गरेको मोलमोलाइलाई मेरो आउने संस्मरणात्मक कृतिमा समावेश गर्ने नै छु । मलाई ओइलाएका फूल र खजमच्चिएका निधारका गाँठाहरु लिएर स्वागत गर्ने तिनै कर्मचारीहरुले मेरो कार्यकक्षमा एकले अर्काको मान मर्यादा नराखी तलव खान नपाएको यति महिना भयो, उति महिना भयो भनी गरेका गुनासका दिनलाई पनि म सम्झन चाहान्नँ । म चाहान्छु, एक वर्षपछि सञ्चालन भएको त्यो मेसिन, पुनः प्रकाशन भएको त्यो मुनामदन, त्यो पागल वस्ती र त्यो गौरीगायतका कृतिहरुले भन्दैथिए, “हामीलाई काम देऊ, छिटो बजारमा लैजाउ, साझाको आर्थिक समृद्धि हामी दिनेछौँ ।” यो भावनालाई धैरेजसो सञ्चार माध्यमले बुझेर नै साझा प्रकाशन बचाउ अभियान सम्भव भएको हो । तर अहिले साझाका बारेमा प्रमुख समाचार र सम्पादकीय लेख्ने कतिपय पत्रकारहरुलाई यो कुराले सायद नछोला ।
हो, मैले ठूलो गल्ती गरेँ, भूल गरेँ । आठ वर्षसम्म हुन नसकेको साधारणसभालाई चुनौतीकाबीच सम्पन्न गरेँ । रिक्त तीन सञ्चालक निर्वाचित भएर आउनुभयो । ११ वर्षदेखि हुन नसकेको लेखा परीक्षण र चार वर्षदेखि नराखिएको लेखालाई दुरुस्त पारेँ । साझा चौतारी छाडेर व्यक्तिको ढुकुटी मजबुद बनाउन पुगेकाहरुलाई पुनः साझामा फर्काएँ । वर्तमान सञ्चालनक समिति र व्यवस्थान संस्थाको खर्च कटौती गरी रोकिएको छपाइ कार्य पुनः सञ्चालन र नयाँ काम सिर्जनाका साथै मिति २०७३ माघ ५ मा २६ बुँदे सुधार कार्ययोजना सार्वजनिक गरी अघि बढिरहेको छ । यो नै हाम्रो गल्ती हो सायद । तर हामी यतिमा प्रशन्न छैनौँ, किनकी गर्न धेरै बाँकी छ ।
श्रद्धेय उपस्थित विद्वान÷विदुषीहरु,
नेपाल सरकारले गत मङ्सिर २६ को निर्णयबाट उपलब्ध गराएको रु ३० करोड (रु २० करोड ऋण र रु १० करोड अनुदान) सहयोगपछि संस्थाको लिलामीमा पर्न लागेको पुल्चोकको जग्गा बच्नुका साथै अन्य ऋण चुक्ता, कर्मचारीको बक्यौता तलव, बैक व्याज, सेवानिवृत्त कर्मचारीको उपदान, स्रष्टाहरुको रोयल्टी वितरणका लागि राहत मिलेको थियो । तर करिव रु ६३ करोड घाटामा रहेको संस्थामा सरकारको उक्त सहयोगले मात्र धान्न सक्ने कुनै अवस्था थिएन । त्यसमा पनि सरकारले दिएको रु ३० करोड मध्ये रु १४ करोड १३ लाख जनक शिक्षा सामग्री केन्द्रलाई सोझै निकासा दिइयो । जनक शिक्षालाई सोझै भुक्तानी गरिहँदा ऋण भनिएको संस्था हामीलाई कुनै जानकारी नदिई गरिएको व्यवहारले हामी कति न्यायमा छौँ वा अन्यायमा छौँ यहाँहरुनै जानकार हुनुहुन्छ ।
यसबीचमा साझालाई मासेर निजी स्वार्थ सोझ्याउने र विगतका आफ्ना कर्तुत छोप्ने तथा साझा बचाउ अभियानलाई असफल बनाउने दुष्प्रयास पनि नभएका होइनन् तर हामीले कहिल्यै हरेश खाएनौ र खाने छैनौँ । श्रद्धेय सञ्चालकहरुले साझा बचाउ अभियानमा अभियन्ताका रुपमा आफूलाई सशक्त रुपमा प्रस्तुत मात्र गर्नुभएन आफ्नो गरिमा र महत्वलाई भूलेर अन्य अग्रज स्रष्टाहरुलाई पनि यस अभियानमा सामेल गराउन खेल्नुभएको भूमिकालाई म कुनै शब्दले व्यक्त गर्न सक्दिनँ ।
यतिबेला मैले राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, वरिष्ठ आख्यानकार मदनमणि दीक्षित र वैरागी काइँला, डा मोदनाथ प्रश्रितलगायतले साझाको गरिमालाई बुझेर अहोरात्र यसको सुन्दर भविष्य खोज्ने पवित्र अभियानमा आड, भरोसा र आशीवर्चन दिनुहुने अग्रज स्रष्ठाहरुलाई सम्झिइनँ भने नेपाली साहित्यमाथि नै अन्याय हुनेछ । उहाँहरुको त्याग, तपस्या र योगदानलाई कुनै दिन एक सच्चा नेपाली नागरिक जन्ेिमएर दूधको दूध पानीको पानी ल्याउनेछ । साझा बचाउन तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्री एवं विभिन्न राजनीतिक दलका नेताहरुका साथै अंशियार र सञ्चारकर्मीहरुको साथलाई हामीले सँधै शीरमा राखेका छौँ ।
संस्था सुधारको बाटोमा अघि बढिरहँदा यसको अवस्थाको बारेमा विषयवस्तुको गहिराइमा नगई व्यक्ति विशेषमा आँच आउने हिसाबबाट केही भ्रम उत्पन्न गर्न खोजिएको सम्बन्धमा यहाँहरुमा रहेका सबै जिज्ञासामाथि प्रमाणका आधारमा मैले जवाफ दिने छु । म आज तपाईँहरुमाझ उपस्थित हुनुभन्दा पहिला नै साझा प्रकाशनका विद्यमान सम्पूर्ण आर्थिक गतिविधि वेबसाइटमा राखेर आएको पनि सगौरव जानकारी गराउँदछु । यसै सन्दर्भमा पछिल्ला समयमा उठेका केही सवाल र उत्पन्न गराइएका भ्रम तथा संस्थाले प्राप्त गरेका उपलब्धिहरुबारे यहाँ स्पष्ट पार्न चाहान्छु ः
१. सापटी फिर्ता र पाठ्यपुस्तक विक्री ः साझाका कामकारवाही नियमित गर्न साझाको खातामा रकम नभएको बेला म नेतृत्वमा आएपछि विभिन्न ठाउँबाट सवा करोड रुपैयाँ भन्दा बढी पैसा ऋणवापत लिएर साझाको अस्तित्व जोगाइराखेको अवस्था थियो । मिति २०७२ भदौ ५ र २०७२ असोज २७ गते संस्थाका कार्यरत प्रथम श्रेणीका सम्पूर्ण कर्मचारीको मागसहितको रायसुझाव र सञ्चालक समितिको ७०६ औं बैठक (मिति २०७३ असार १८) को निर्णय नं. २, ७१५ औं बैठक (मिति २०७३ असोज ११) को निर्णय नं. २ र ७१६ औं बैठक (मिति २०७३ कात्तिक २) को निर्णय नं. ६ बमोजिम ऋणस्वरुप लिएको रकम फिर्तालाई मैले रु ५० लाख लगेको भनी अथ्र्याउनु कत्तिको न्यायोचित हो ? विसं. २०७० सालमा ४६ हजार “सबैको नेपाली” पुस्तक उत्पदान गरेको साझा प्रकाशनले विद्यार्थी सङ्ख्या बढेको अवस्थामा २०७१ सालमा ३४ हजार मात्र पुस्तक उत्पादन गर्न पुग्छ । मेरो प्रवेशसँगै २०७२ सालमा सोही पुस्तक १ लाख २५ हजार छापिन्छ । अब भन्नुस्, डोलिन्द्रले आर्थिक अपचलन गरेको हो कि यसभन्दा अघिका इमान्दार साझा सेवकहरुले ? संस्थाको खातामा रकम नहुँदा मैले “सबैको नेपाली”, “लिङ्क इङ्गलिस”, “एक चिहान” लगायतका साझा कृतिहरुको विक्रीबाट रु १ करोड ३८ लाख ४९ हजार संस्थाको बैङ्क खातामा जम्मा गरी भएको कारोबारलाई स्मरण गराउन चाहान्छु । यी सम्पूर्ण कारोबार र पुस्तक खरिदमा छुटको व्यवस्थाबारे सञ्चालक समितिको निर्णयबाटै काम भएको छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा आयोगले आवश्यक फाइल झिकाइ छानविन गरी मिति २०७३ माघ २५ (च.नं. ५—९२७) गते सफाइ दिइसकेको छ ।
२. कर्मचारी कटौती र नयाँ नियुक्ति ः साझा प्रकाशन आर्थिक रूपमा धराशायी बनेपछि कर्मचारीहरू स्वयंले व्यवस्थापनसँग आफूहरूलाई सुविधा दिएर अवकास दिन निवेदन दिएका थिए । १३३ जना स्थायी, ४४ जना करार र अस्थायीलाई विदा दिइसकेपछि पनि संस्था संचालनका लागि तथा लामो समयदेखि हुन नसकेको लेखापरीक्षण सम्पन्न गर्न सीमित समयका लागि करारमा कर्मचारी राखिएको हो । कर्मचारी राख्दा गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी सञ्चालक समितिको मिति २०७३ कात्तिक २ गतेको ७१६ औं बैठकको निर्णय नं. ३ बमोजिम कर्मचारी व्यवस्थापन तथा सांगठनिक संरचनालाई समयानुकुल बनाउन मानव संशाधन समिति गठन भएको सो समितिले दिएको प्रतिवेदनका आधारमा व्यवस्थित गरिएको हो । साथै लेखा व्यवस्थापन गर्न जिम्मा पाएको एस्सेन्ट कन्सल्टेन्सी सर्भिसले मिति २०७४ जेठ २ मा थप २५ जना जनशक्ति माग गरेबमोजिम संस्थाको नियम र सञ्चालक समितिको निर्णयबमोजिम ६ महिनाका लागि करामा नियुक्ति दिइएको छ । यसबीचमा सञ्चालक समितिको ७२२ औं बैठक (२०७३ फागुन १०) को निर्णय नं. १ लाई कार्यान्वयन नगर्ने कर्मचारीलाई अवकाश दिइएको पनि जानकारी गराउन चाहन्छु । करारमा नयाँ नियुक्ति पाएका कुल ८६ जना मध्ये कार्यक्षमताका आधारमा करार नवीकरण गर्ने नीतिअनुसार हाल जम्मा ७१ नयाँ कर्मचारी कार्यरत छन् । पुराना र नयाँ गरी हाल १४४ जना जनशक्ति छन् ।
३. बाह्य प्रेसमा पुस्तकमा छपाइ र कमिसन ः साझा प्रकाशनको स्थापना कालदेखि नै आफूले उत्पादन गर्न नसक्ने कृतिहरु बाह्य प्रेसलाई दिँदै आएको छ । यस सम्बन्धमा सञ्चालक समितिको ६८३ औं बैठक (२०७२ साउन १२), ७०६ औं बैठक (मिति २०७३ असार १८) र ७२२ औं बैठक (२०७३ फागुन १०) का निर्णयहरुका आधारमा सम्पूर्ण प्रक्रिया पूरा गरी बाह्य प्रेसलाई छापाइको काम दिइएको हो । छपाइ भएका पुस्तकहरूको विवरण संस्थाको केन्द्रीय भण्डार महाशाखामा दाखिला गराई बिक्रेता तथा साझा प्रकाशनका सबै शाखामा पठाएको थियो । साझा प्रकाशन सञ्चालक समितिको मिति २०७३ असार १८ गतेको निर्णयानुसार रु १० लाखभन्दा माथि एकै विलमा उठाउनेलाई ३५ प्रतिशत कमिशन दिने निर्णय भएको छ । सोहीबमोजिम संस्थाका बिक्रीकक्षबाट कारोबार हुने गरेको हो । कमिशनको हकमा संचालक समितिले समयसमयमा निर्धारण गरेबमोजिम हुनेछ । हाल पनि चालु पुँजीको अभाव रहेको, संस्था छापाखानाको क्षमतामा पनि विस्तार नभएको, कोर्षमा रहेका पुस्तक समयै उत्पादन गरी बजारमा पठाउनुपर्ने भएकाले संस्थाले निर्धारण गरेको दररेटमा नियमानुसार संस्थाको छापाखानाले नभ्याएका पुस्तक बाह्य प्रेसबाट छपाइ गरी केन्द्रीय भण्डारमा स्टोर दाखिला गरी देशभर बिक्री वितरणको व्यवस्था मिलाइएको छ । हामी आफ्नो लोगो संरक्षण तथा प्रतिलिपि अधिकारप्रति सचेत छौँ । संस्थाका कृति अनधिकृत रूपमा प्रकाशन भएमा त्यसलाई कानुनी दायरामा ल्याउन संस्था लागि परेको छ । बजार अनुगमनलाई थप व्यवस्थित बनाइएको छ ।
४. बजेट र कार्यक्रम ः विगतमा साझा प्रकाशन आर्थिक तथा व्यवस्थापकीय कमजोरीका कारण संक्रमणकालीन अवस्थामा गुज्रेको परिस्थितिमा थियो । संस्थाको कार्यक्रम तथा बजेट निर्माणको काम हुन सकेको थिएन । हाल साझा प्रकाशनको अवस्थामा क्रमिक सुधार आएकाले संस्थाले यसै वर्षदेखि बजेट तथा कार्यक्रम निर्माण गरी सञ्चालक समितिबाट बजेट स्वीकृत गराएर खर्च गर्ने व्यवस्था मिलाइएको छ । संस्थाको कार्यसम्पादन गराउँदा अध्यक्ष तथा महाप्रबन्धकको अधिकारक्षेत्रभित्र पर्ने गरी मात्र खर्च गरिएको छ ।
५. लेखा परीक्षण ः संस्थाको आर्थिक मेरुदण्ड मानिने आर्थिक वर्ष २०६४÷२०६५ देखि २०७२÷२०७३ सम्मको लेखापरीक्षण कार्य भइरहेको छ । सो प्रतिवेदन आउँदो भदौ मसान्तसम्ममा सार्वजनिक गरिनेछ ।
६. आर्थिक छानविन ः विभिन्न समयमा संस्थाको हिसाबकिताब पारदर्शी नभई आर्थिक असन्तुलनका कारण संस्थाले सङ्कट ब्योहोर्नुपरेको भन्ने गुनासोका सन्दर्भमा आर्थिक वर्ष २०६४÷२०६५ देखि २०७१÷२०७२ सम्मको सम्पूर्ण आर्थिक गतिविधिको निष्पक्ष छानविन कार्य जारी रहेको छ । सो छानविन समितिको यथार्थ वस्तुस्थिति आगामी भदौभित्र सार्वजनिक गरिनेछ ।
७. पाठ्यपुस्तक उत्पादन ः जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६ देखि १० सम्मका ३० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मा लिई काम सुरु गरेको छ । पाठ्यपक्रम विकास केन्द्र, सानोठिमीबाट प्राप्त मुद्रणीय प्रतिका आधारमा विद्यालय तहका कक्षा १ देखि १० सम्मका अङ्ग्रेजी माध्यमका सम्पूर्ण सेटका पाठ्यपुस्तक उत्पादन सुरु गरिएको छ ।
८. साहित्यिक कृति प्रकाशन ः लोकप्रिय साहित्यिक कृतिहरुको पुनः मुद्रण गरिएको छ भने साझाको उत्पादन र वितरण बन्द भएको अवस्थामा बाहिरबाट छापिएका साझाका महत्वपूर्ण कृतिका स्रष्टासँग सहमतिपछि पुनः साझाबाटै प्रकाशनको आरम्भ गरिएको छ । पछिल्लो ४ महिनामा मात्र ८० वटा शीर्षकका पाण्डुलिपि मूल्याङ्कन गरी प्रकाशन गरिएको छ ।
९. अन्तर्राष्ट्रिय सहयोग समिति गठन र विदेशमा प्रदर्शनी ः साझा प्रकाशन र नेपाली भाषा साहित्यलाई विश्वका विभिन्न मुलुकका नेपाली भाषी र अन्य भाषीको पहुँचमा लान अन्तर्राष्ट्रिय सहयोग समिति गठन गर्नाका साथै विदेशमा प्रदर्शनीहरुको आयोजना सुरु गरिएको छ । यसबाट उत्साहजनक सहभागिता भई आम्दानीको नयाँ स्रोतको ढोका खुलेको छ । साथै महत्वपूर्ण कृतिहरुको अनुवादका लागि साझा प्रकाशन, अङ्ग्रेजी विभाग खडा गरिएको छ ।
अन्त्यमा, साझा प्रकाशन सबैको साझा हो । यसको संरक्षण गर्नुपर्ने दायित्व हामी सबैको भएकाले संस्था सुधारका लागि गर्नुपर्ने रचनात्मक सुझावको सदैव अपेक्षा गर्दछौँ । यहाँहरु सबैलाई साझाको कार्यालय अवलोकन गर्न , प्रेस र बजार अनुगमन गर्न तथा उचित राय सुझाव दिन हार्दिक आव्हान गर्दछौँ । धन्यवाद ।
जय साहित्य, जय साझा ।
डोलिन्द्रप्रसाद शर्मा
अध्यक्ष तथा महाप्रबन्धक, साझा प्रकाशन

© 2016 Sajha Prakashan. All Rights Reserved...