साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा प्रकाशन सुधार कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

प्रेस–विज्ञप्ति

 

“जब काममा आनन्द हुन्छ, जीवन हर्सोल्लासपूर्ण बन्छ

   जब काम कर्तव्य बन्छ, तब जीवन दास बन्छ ।”

                                                                    —म्याक्सिम गोर्की, रसियन साहित्यकार

 

देशको पहिचानसँग गाँसिएको भाषा–साहित्य, कला संस्कृतिको उन्नयनमा समर्पित प्राज्ञिक संस्था साझा प्रकाशनको कार्यकारी प्रमुख पदको मैले जिम्मेवारी समालेको दुई वर्ष पूरा भएको छ । मेरो कार्यसम्पादनलाई मूल्याङ्कन गर्दै साझा प्रकाशन सञ्चालक समितिले आगामी ४ वर्षका लागि पदावधि थप गरिदिएको सर्वविदितै छ । यो विश्वास र जिम्मेवारीका लागि सञ्चालक समितिप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

आर्थिक अवस्थाले जर्जर भई माकुराले जालो लगाएको अवस्थामा रहेको साझा प्रकाशनलाई सपार्छु भनी म प्रवेश गरेको थिएँ । प्रवेश गर्दा छापाखानालगायत कार्यालयहरू बन्द थिए । बन्द भएका काम र कार्यालयहरू सञ्चालन गर्नु मेरो पहिलो चुनौती थियो । यस्तै ८ वर्षदेखि साधारणसभा नगराई सञ्चालक समितिमा बस्नुभएका तत्कालीन सञ्चालक समिति सदस्य साथीहरूले साझा प्रकाशन उत्थानको कुरा गर्नासाथ समितिबाट राजीनामा दिएर असहयोग गरेको तीतो सत्य पनि मसँग रहेको छ । मैले अनेकन अवरोधका बीच संस्था सञ्चालन गर्ने सन्दर्भमा सञ्चालक समितिबिनै साझाका लागि अनेकन जोखिम मोलेकै हुँ ।

२३ औँ साधारणसभाबाट चुनिएर आएका सञ्चालक समिति सदस्यज्यूहरू र कर्मचारी साथीहरूको सहयोगले साझाका कामहरू नियमित गर्न म सफल भएँ । लेखकहरूको लेखकस्व, कर्मचारीको पारिश्रमिकलगायत सेवानिवृत्त तथा अवकाश पाउनुभएका कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने कुल रु. ४० करोडभन्दा बढी ऋण दायित्व दिनानुदिन बढ्दै गएको र सहकारी बैङ्कको कर्जा चुक्ता गर्न नसक्दा साझाको सम्पत्ति लिलामीको अन्तिम चरणमा पुगेको थियो । साझालाई बचाउने महाचुनौती र साझाका नियमित कार्यलाई सम्पादन गर्ने अर्को समस्यासँग जुध्न मैले गरेका हरेक प्रयाससँग तपाईंहरू सबै परिचित नै हुनुहुन्छ ।

संस्था जोगाउन देशका प्रबुद्ध समाजसेवी तथा साहित्यसेवीहरू राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, मदनमणि दीक्षित, बैरागी काइँलालगायतको अगुवाइमा स्रष्टाहरूको साथ लिएर राज्यको उच्च तहमा साझा प्रकाशनको आवाज पु¥याउने कार्यले सफलता प्राप्त गर्न सहयोग ग¥यो  ।

साझा प्रकाशनलाई जीवन्त बनाउन मैले धेरै निकाय र व्यक्तिहरूसँग औपचारिक र अनौपचारिक रूपमा सहकार्य गरेको छु । साझा प्रकाशनको समस्या राजनीतिक तहबाट नै हल गर्नुपर्ने देखिएकाले साहित्यिक तथा राजनीतिक नेतृत्वलाई साझा प्रकाशनमा आबद्ध बनाई उहाँहरूको सहयोगका साथ सम्बन्धित निकायमा पहल पनि गरियो । अन्ततः साझा प्रकाशन वामे सर्न सफल भयो ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू को नेतृत्वको सरकारले रु. १० करोड अनुदानसहित रु. ३० करोड सहयोग प्रदान नगरेको भए साझा प्रकाशन रहन्थ्यो वा रहन्थेन, कल्पनाको विषय हुनसक्थ्यो । सम्माननीय प्रधानमन्त्रीज्यूले साझा प्रकाशनको अवलोकन गर्ने क्रममा साझालाई जीवन्त राख्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाले हामीमा उत्साह थपिएको छ ।

सम्माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू साझा प्रकाशनको प्राङ्गण स्वयं उपस्थित भई यसको सङ्कट समाधानका निम्ति लिनुभएको अभिभावकत्व ग्रहणप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु मेरो पदीय दायित्व ठान्दछु ।

प्रधानमन्त्रीसहित प्रमुख पार्टीका शीर्ष नेता तथा माननीय अर्थमन्त्रीज्यू, शिक्षामन्त्रीज्यूदेखि अग्रज साहित्यकार, वर्तमान सञ्चालक समितिका पदाधिकारी एवम् स्रष्टाहरूको नियमित र निरन्तर मार्गदर्शन संस्थाका लागि प्रेरणाको स्रोत बनेको छ ।

म साझा प्रकाशनको नेतृत्वमा आएदेखि साझा बचाऊ अभियानको अभियन्ताको भूमिकामा आफ्नो पद र प्रतिष्ठालाई बिर्सेर एउटै साझा मालामा गाँसिएर लागिपर्नुभएका वरिष्ठ साहित्यकार दीनानाथ शर्मा, प्रदीप नेपाल, प्राध्यापक डा. कृष्णहरि बराल र अग्रजहरू, सङ्कटको घडीमा पनि साझालाई माया गर्ने देश–विदेशका स्रष्टाहरूमा धन्यवाद व्यक्त गर्दछु । साथै उहाँहरूबाट निरन्तर सल्लाह र सुझावको आशा गर्दछु ।

यसबीचमा संस्थाको यथार्थ वस्तुस्थिति दर्शक, श्रोता र पाठकमाझ पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरूको योगदान अतुलनीय छ । यसप्रति आभार व्यक्त गर्नु आफ्नो कर्तव्य हो ।

मेरो दुईसबर्से कार्यकालमा साझा प्रकाशनको जग पहिल्याउने काम भएको छ भने अबको ४ बर्से कार्यकालमा कहिल्यै डगमगाउनु नपर्ने साझा प्रकाशनको निर्माण गरी जीवन्त राख्ने योजनाका साथ हामी अघि बढेका छौँ । केही समय धमिलिएको साझा प्रकाशनको साख पुरानै अवस्थामा फर्काउन सफल हुने मात्र हैन, विश्वमै साहित्यक क्षेत्रको एक नमुना संस्थाका रूपमा प्रस्तुत गर्ने कार्ययोजना तयार भइसकेको छ । प्रशस्त सम्भावनाका बीच संस्थामा सरकारबाट थप सहयोग र जिम्मेवारी प्राप्त भएको खण्डमा साझालाई मुलुककै उदाहरणीय संस्थाका रूपमा स्थापित गर्न हामी कुनै कसर बाँकी राख्नेछैनौँ ।

विगत दुई वर्षमा खरायोको गतिमा लान खोजिएको संस्थालाई बाध्यतावश कछुवाको चालमा घिसार्नुपर्दाको पीडा मसँग गानिएर बसेको अवस्थालाई तोड्दै आगामी कार्यकाललाई ऐतिहासिक बनाउने प्रण यस अवसरमा गर्दछु ।

यहाँहरूसमक्ष आगामी दुई वर्षका लागि साझा प्रकाशन सुधारसम्बन्धी एक पटक एक काम – साझा प्रकाशन भन्ने मूल अभियानसाथ निम्न कार्ययोजना पस्कन चाहन्छु–

क) आर्थिक व्यवस्थापन

१. सरकारबाट  प्राप्त उक्त सहयोग संस्थाको वर्तमान आर्थिक सङ्कट समाधानका लागि हुने भएकाले थप सहयोग ल्याउन पहल गर्ने छु ।

२. साझा प्रकाशनको स्थापना सरकारी स्तरबाट भएको हो । यो संस्थाले नेपाली भाषा प्रकाशिनी समितिको सम्पत्ति एवम् अधिकार प्रयोग गर्दै आएकाले यो संस्था नेपाल सरकारको स्वामित्वमा रहेको कुरा भनिरहनु पर्देन । यसअघि संस्थाले नेपाल सरकारसँग लिएको ऋण रकमलाई सेयरमा परिणत गरिदिने व्यवस्था गर्न नीतिगत निर्णयका लागि पहल गर्ने छु ।

३. समावेशीको अवधारणालाई प्राथमिकता दिँदै विभिन्न भाषाभाषीका पुस्तक प्रकाशनका लागि नियमित बजेटअन्तर्गत कम्तीमा १० करोड उपलब्ध गराउने नीतिगत व्यवस्थाका लागि पहल गर्नेछु ।

४. संस्थाको छापाखानालाई आधुनिकीकरण गर्दै भोटदेखि नोटसम्म छाप्न सक्ने सुरक्षित मुद्रणालयका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि पहल गरिने छ ।

५. गत वर्ष २०७२ सालको महाभूकम्पले संस्थाको केन्द्रीय कार्यालय भवन जीर्ण भएकाले पुनर्निर्माणका लागि आवश्यक पहल गरिने छ ।

ख) कानुनी व्यवस्था

१. शिक्षा मन्त्रालयका तर्फबाट साझा प्रकाशनको कार्यव्यवस्था नियमावली निर्माणका लागि भइरहेको पहललाई चाँडो निष्कर्षमा पु¥याउन प्रयास गरिनेछ ।

२. ‘नेपाली भाषा प्रकाशन संस्थान ऐन २०२१’ लाई समसामयिक सुधार गरी ‘साझा प्रकाशन संस्थान ऐन २०७३’ जारी गर्न नीतिगत व्यवस्थाका लागि नेपाल सरकारसँग आवश्यक पहल गरिने छ ।

३. साझा प्रकाशनको महाप्रबन्धकलाई जनक शिक्षा सामग्री केन्द्रको पदेन सञ्चालक रहने व्यवस्थाका लागि पहल गरिनेछ ।

ग) नीतिगत व्यवस्थापन

संस्थालाई आत्मनिर्भर बनाउने सन्दर्भमा यसको कार्यक्षेत्रका देखिएको अन्योल हटाउन निम्न नीतिगत निर्णयका लागि शिक्षा मन्त्रालयलाई प्रभावकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिनेछ  ।

अ. पाठ्यपुस्तक वितरणका लागि जनक शिक्षासँग अद्यावधिक व्यावसायिक सम्बन्ध स्थापित गर्दै सरकारको नीतिगत सहयोग मूर्त सर्तनामासहित स्थायी कार्यविधि तय गर्ने ।

आ. नेपाल सरकारका सबै कार्यालयका मुद्रणका काम लिन पहल गर्ने तथा शिक्षा मन्त्रालयमातहतका विशेषगरी पाठ्यक्रम विकास केन्द्रबाट थप कामहरू लिई छपाइ र वितरण गर्ने । उच्च शिक्षाका अन्य प्रकाशनहरूको पनि वितरण गर्ने, कक्षा ११–१२ को ‘सबैको नेपाली’ जस्ता अन्य पुस्तक उत्पादन तथा बिक्रीवितरणको जिम्मेवारी लिने । पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएका सामुदायिक विद्यालयका अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्रीहरू उत्पादन तथा बिक्रीवितरणको जिम्मेवारीका लागि आवश्यक पहल गरिने छ ।

ई. संविधानमा व्यवस्था भएबमोजिम सङ्घीय संरचनामा संस्थालाई रूपान्तरण गरिनेछ ।

घ. संस्थागत सुधार

१. शिक्षा मन्त्रालयको समन्वयमा साझा प्रकाशन र जनक शिक्षाबीचको हिसाबकिताब फरफारक गर्न साझामा रहेका जनक शिक्षा सामग्री केन्द्र लि. का गृहिणी शिक्षा, अनुवाद पुस्तकलगायत पुरानो स्टक किताब फिर्ता गरी हरहिसाब मिलान गर्ने ।

२. आगामी फागुन महिनाभित्र २०६४–०६५ देखि २०७२–०७३ सम्मको लेखापरीक्षण गरिने छ । लेखाप्रणालीलाई समयानुकूल सुधार गर्न नयाँ सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइनेछ । सबै बिक्रीकक्षमा कम्प्युटर प्रणालीबाट बिलिङको व्यवस्था मिलाइनेछ ।

३. साझा प्रकाशनका अधिकांश अंशियार साहित्यिक स्रष्टा छन् । संस्थाको उन्नयनमा अंशियारको महत्वपूर्ण भूमिका हुन्छ । अंशियारलाई एकत्रित गर्नका लागि अंशियारहरूको सम्पूर्ण विवरण खुल्ने डायरी यथाशीघ्र प्रकाशन गरिने छ । संस्थाका सम्पूर्ण अंशियारहरूलाई सेयर थप गरिएको अंशियार प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक अंशियारको कम्तीमा रु. ७,५००।– बराबरको सेयर गर्नुपर्ने व्यवस्था गरिनेछ ।

४. संस्थाका साहित्यिक पुस्तकहरूको व्यापार र भाषासाहित्यको प्रवद्र्धन गर्ने उद्देश्यका लागि भारतमा नेपालीहरूको बाहुल्य रहेका स्थानहरूमध्ये सिलिगुडीमा शाखा स्थापना गरी सञ्चालनमा ल्याइनेछ । साथै पुस्तक प्रवद्र्धनका लागि ४ महिनाभित्र देशका प्रमुख सहर तथा विदेशमा पनि पुस्तक प्रदर्शनी आयोजना गरी पठनसंस्कृतिको अभिवृद्धि गरिनेछ ।

५. २०३५ सालमा युनेस्कोबाट साझा प्रकाशनलाई नेपालका लागि एकमात्र राष्ट्रिय वितरकका रूपमा मान्यता दिइएको थियो । सोही मान्यतालाई कायम गराउन पुस्तक वितरकका रूपमा आफ्नो कामलाई थप व्यवस्थित बनाई कार्य गरिनेछ । साथै स्वदेशी र विदेशी प्रकानगृहसँगको सहकार्यमा पुस्तकको बिक्रीवितरण कार्यलाई व्यवस्थित गरिनेछ ।

६ विभिन्न समयमा संस्थाको हिसाबकिताब पारदर्शी नभई आर्थिक असन्तुलनका कारण संस्थाले सङ्कट बेहोर्नु परेको भन्ने गुनासा आइरहेको सन्दर्भमा आर्थिक वर्ष २०६४–०६५ देखि २०७१–०७२ सम्मको संस्थाको सम्पूर्ण आर्थिक गतिविधिको निष्पक्ष छानबिन गरी यथार्थ वस्तुस्थिति यसै वर्षभित्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गरिनेछ ।

७. कुनै पनि संस्था सबल हुनुमा त्यसको आर्थिक पक्ष महत्वपूर्ण पाटो हुन्छ । संस्थालाई दिगो आर्थिक आम्दानी स्रोतका लागि हाल संस्थासँग भएको जायजेथा अधिकतम् उपयोग गर्ने नीति तत्काल सुरु गरिनेछ । संस्थाको निर्माणाधीन केन्द्रीय भवनलाई एक वर्षभित्र निर्माण पूरा गरी त्यसको प्रयोग गरिनेछ ।

८. साझा प्रकाशनका कृतिको अनधिकृत रूपमा बाहिरी प्रकाशनगृहले प्रकाशन गर्न थालेकाले तिनलाई नियन्त्रण गरी कानुनी दायरामा ल्याइनेछ । आफ्ना कृतिहरू समयमै पुनः मुद्रण गरी बजार मागअनुसार पूर्ति गरिनेछ । नयाँ तथा उत्कृष्ट कृतिलाई प्रकाशन गरिनेछ ।

९. संस्थालाई आत्मनिर्भर बनाउन आगामी शैक्षिक सत्र २०७३–०७४ का लागि परियोजनाअन्तर्गत अङ्ग्रेजी, All in One, सचित्र वर्णमाला, गणितलगायत पुस्तक उत्पादन गरी बिक्रीवितरण गरिनेछ ।

१०. पुस्तकमा सबैको पहुँच विस्तार गरी पुस्तकालय प्रवद्र्धनका लागि गत वर्ष माननीय सांसदज्यूहरूलाई पत्राचार गरिएको थियो । साझा प्रकाशनको यस अभियानमा गत वर्ष माननीय धनीराम पौडेलज्यूले सांसद विकास कोषको बजेटबाट साझा प्रकाशनबाट दुई लाखको पुस्तक खरिद गरी चितवन जिल्लाका विद्यालयमा वितरण गर्नुभएको छ । हालै माननीय निशा साहले सोही कोषअन्तर्गत दुई लाख ७५ हजारका पुस्तक खरिद गर्नुभएको छ । यो अभियान विस्तार गर्दै संसद्मा रहेका सबै माननीयज्यूहरूलाई पुस्तक खरिदका लागि पुनः आग्रह गरिनेछ ।

११. साझाका गोदाममा थन्क्याइएका २२ करोडबराबरका पुस्तकलाई चालू पुँजीमा परिणत गरिनेछ ।

१२. संस्थाका मेरुदण्ड भनेकै कर्मचारी हुन् । कर्मचारीलाई पेसाप्रति उत्तरदायी र उत्प्रेरणा जगाउन तालिमको व्यवस्था गरिनेछ । कर्मचारीको रुचि, क्षमता, योग्यताअनुसारको जिम्मेवारी दिई कार्यसम्पादनलाई गुणात्मक र परिणाममुखी बनाइनेछ । प्रचलित ऐनकानुनको परिधिभित्र रही संस्थाको साङ्गठनिक संरचना तथा कर्मचारीको सेवा सर्त नियमावलीलाई समयानुकूल बनाइनेछ । संस्थाको आर्थिक अवस्था, कार्यबोधका आधारमा योग्य र दक्ष जनशक्ति करार सेवाबाट पनि व्यवस्था गरिनेछ ।

१३. व्यावसायिक र सेवामूलक कार्यलाई सँगसँगै अघि बढाइनेछ । आन्तरिक नियन्त्रण पद्धतिलाई बलियो बनाई सन्तुलन र नियन्त्रणको अवस्था कायम गरिनेछ ।

१४ संस्थालाई वैज्ञानिक, प्रतिस्पर्धी र पद्धतिसङ्गत ढङ्गबाट सञ्चालन गरिनेछ ।

१५. संस्थाको वेबसाइटलाई अद्यावधिक गरी साझा प्रकाशनका पुस्तकहरूलाई ई–बुकमार्फत बिक्री गर्ने व्यवस्था मिलाइनेछ ।

१६. पुँजीको आवश्यकता पूर्तिका लागि नेपाल सरकार तथा स्वदेशी–विदेशी सङ्घसंस्थासँग समन्वय गरी आर्थिक सहाकार्य बढाउँदै साहित्यिक आदानप्रदानको दायरा बढाइनेछ । विश्वसाहित्यमा नेपाली साहित्यलाई पु¥याउन अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गरी नेपाली साहित्यलाई विश्व बजारमा पु¥याइनेछ ।

१७. कर्मचारीको उपदान, स्वेच्छिक अवकाशलगायत विभिन्न समयमा संस्थाबाट अवकाश प्राप्त १७२ जना कर्मचारीलाई भुक्तानी गर्नुपर्ने २८ करोड रुपैयाँ १ वर्षभित्र भुक्तानी गरिसकिनेछ । यसबारे मिति २०७३।९।१४ को प्रतिबद्धतासमेत कार्यान्वयन गरिनेछ ।

१८. गरिमा मासिक पत्रिकाको स्तरोन्नति र व्यावसायिक अभिवृद्धि गर्न योजनासहितको कार्यकारी सम्पादक नियुक्त गरिनेछ । यस पत्रिकालाई दिगो बनाउन १ करोडको अक्षयकोष खडा गरिनेछ ।

१९. साझा प्रकाशनलाई उत्पादनमैत्री वातावरण र भ्रष्टाचाररहित नमुना  संस्थाका रूपमा पेस गरिनेछ ।

२० साझा प्रकाशनका मुहान भनेका लेखक हुन् । तिनलाई सम्मान गर्नु हाम्रो दायित्व हो । संस्थाले लेखकहरूलाई भुक्तानी गर्न बाँकी १ करोड ५० लाख लेखकस्व ०७३–०७४ मा भुक्तान गरिनेछ ।

२१. पठनसंस्कृतिको विकास गर्न साझा प्रकाशनले घुम्ती पुस्तक पसल सञ्चालन गर्नेछ ।

२२. साझा प्रकाशनले घोषणा गरी वितरण गर्न नसकेर रोकिएका पुरस्कार वितरण गर्दै फेरि त्यस्ता दिन नदोहोरिऊन् भन्नका लागि २ करोडको अक्षयकोष खडा गरिनेछ । यसै वर्षदेखि सुरु गरिएको साझा सम्मानलाई निरन्तरता दिन १ करोडको अक्षयकोष खडा गरिनेछ ।

२३ समग्रमा साझा प्रकाशन निजी प्रकाशनसँग प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय छवि बनाउन सक्ने मान्यताप्राप्त संस्थाका रूपमा निर्माण गरिनेछ ।

२४. साझाको परिसरमा मूर्धन्य स्रष्टाहरूको सालिक निर्माण गर्नुका साथै स्वदेशी, विदेशी अतिथि स्रष्टाका लागि आवासगृह बनाइनेछ । सो स्थलमा व्यवस्थित पुस्तकालय, साहित्यिक सिर्जना कक्ष, पाण्डुलिपि कक्षजस्ता विशेष कक्ष बनाई सिर्जनास्थल बनाइनेछ ।

२५ प्रत्येक शुक्रबार ३ बजे साताभरिका सम्पूर्ण गतिविधिलाई संस्थाको वेबसाइट तथा सूचनापाटीमा समावेश गरी आमनागरिकमा जानकारी गराइनेछ ।

२६. देशका दूरदराजमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारितामा अनवरत सेवारत व्यक्तिहरूका कृति प्रकाशन गरी साहित्यको श्रीवृद्धि गर्ने काममा संस्थालाई सधैँ क्रियाशील गराइनेछ ।

 

अन्त्यमा, सबैको सहयोग, समन्वय र सद्भावबाट नै संस्थाको भविष्य उज्ज्वल हुने भएकाले उल्लिखित कार्ययोजना कार्यान्वयनमा रचनात्मक साथ र सहयोगको अपेक्षा गर्दछु ।

 

 

डोलिन्द्रप्रसाद शर्मा

अध्यक्ष तथा महाप्रबन्धक

मिति – २०७३।१०।५

© 2016 Sajha Prakashan. All Rights Reserved...