साझा प्रकाशन एक झलक



साझा प्रकाशन एक झलक
भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको विकासमा सक्रिय योगदान दिने, उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने जस्ता उद्देश्यसाथ स्थापित साझा प्रकाशन स्थापनाकालदेखि नै आफ्नो घोषित उद्देश्यप्राप्तिका लागि क्रियाशिल र प्रतिबध्द छ।

भाषा, साहित्य, संकृति र शिक्षाको विकासका लागि वि सं १9७० सालमा सरकारी स्तरबाट गोरखा भाषा प्रकाशिनी समितिको स्थापना भयो र वि सं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भएपछि त्यसैको उत्तराधिकारीको रूपमा सहकारी ऐन 2016 अन्तर्गत वि सं 2021 सालमा साझा प्रकाशनको स्थापना भयो । यसरी गोरखा भाषा प्रकाशिनी समिति तथा नेपाली भाषा प्रकाशिनी समिति साझा प्रकाशनको पूर्वरूप अथवा इतिहास हो । पाठ्यपुस्तक तथा पाठ्यसामग्री र सिर्जनात्मक कृतिहरू प्रकाशनकार्यमा संलग्न नेपाली भाषा प्रकाशिनी समितिले गर्दै आएका कार्यहरू सरकारी स्तरबाटै साझा प्रकाशनलाई प्राप्त भएको हो । नेपाली भाषा प्रकाशिनी समितिबाट प्राप्त केही भौतिक सामान र दुई लाख मूल्यबराबरका पुस्तकहरू प्राप्त गरी साझा प्रकाशनले आफ्नो कार्यसञ्चालनको सुरुआत गरेको हो । हालसम्म यसले विभिन्न विधाका साहित्यिक ग्रन्थहरूका साथै विद्यालयस्तरका सन्दर्भ पाठ्यपुस्तक तथा उच्चशिक्षाका विभिन्न पाठ्यसामग्रीसहित एक हजारभन्दा बढी शीर्षकमा पुस्तकहरू प्रकाशित गरिसकेको छ । यसरी साझा प्रकाशनले भाषा-साहित्यको संवर्धनका लागि पुस्तकहरूको उत्पादन मुद्रण र बिक्रीवितरणको कार्य अनवरत रूपमा गर्दै आएको छ ।

साझा प्रकाशनको स्थापना भएदेखि नै यसले साहित्यिक कृतिहरूको प्रकाशनका साथै विद्यालयस्तरका पाठ्यपुस्तकहरूको प्रकाशन, उत्पादन र वितरण गर्दै आएको थियो, तर २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तक प्रकाशन-उत्पादनकार्य साझा प्रकाशनले गर्न पाएन । यसपश्चात् विद्यालयस्तरका पाठ्यपुस्तकको निर्माण पाठ्यक्रम विकास केन्द्रले गर्दै आएका छन् भने साझा प्रकाशनले नेपाल अधिराज्यभरि पाठ्यपुस्तकको बिक्रीवितरण गर्दै आएको छ । जनक शिक्षा सामग्री केन्द्रद्वारा उत्पादित प्राथमिक स्तरका पाठ्यपुस्तक साझा प्रकाशनले २०२४ सालदेखि अधिराज्यभरि बिक्रीवितरण गर्दै आएको हो । आफ्नो व्यवस्थित संरचनाद्वारा साझा प्रकाशनले अधिराज्यका अत्यन्त दुर्गम स्थानहरूमा समेत निश्वित समयमा सुलभ रूपमा पाठ्यपुस्तक उपलब्ध गराउने गहन अभिभारा कुशलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

साझा प्रकाशनमा कवि, लेखक, साहित्यकार, कलाकारको बाहुल्य रहेको छ । साझा प्रकाशनले साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार र गरिमा सम्मान पुरस्कारको व्यवस्था गरेको छ ।

Back to top button
Close